अधिकांश पत्रकारमा मुटु रोगको जोखिम

मेराज सलमानी 

बाँके । अस्वस्थ जीवनशैली र अनियमित खानपानका कारण बाँकेका धेरै पत्रकारमा मुटु रोगको जोखिम देखिएको छ। नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा, नेपाल प्रेस युनियन बाँके र स्व. पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा आयोजित निःशुल्क ‘मुटु जाँच शिविर’मा गरिएको परीक्षणमा यस्तो तथ्य बाहिर आएको हो।

७७ जना पत्रकारको स्वास्थ्य परीक्षणमा करिब ४५ प्रतिशतमा कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख तथा कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. कृष्ण अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार उच्च रक्तचाप र सुगरका समस्या पनि धेरै पत्रकारमा पाइएका छन्।

डा. अधिकारीले अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुमा असर गर्ने रोगहरू बढ्दै गएको बताउँदै नियमित व्यायाम, बोसोरहित आहार, हरियो सागसब्जी र फलफूल सेवन गर्ने सुझाव दिनुभयो। वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. विकास नेपालले शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्दा रक्तधमनी अवरुद्ध भई हृदयाघातको जोखिम बढ्ने भएकाले सचेत रहन सुझाव दिनुभयो।

मुटु रोग विभागका फिजिसियन डा. विपिन आचार्यले पत्रकारहरूमा प्रत्यक्ष मुटु समस्या नभए पनि जोखिम कारकहरू धेरै देखिएको बताउँदै जीवनशैली सुधार गर्न सुझाव दिनुभयो।

प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीका अवसरमा आयोजित शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले गर्नुभएको थियो।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले हरेक नागरिकको मुटु बलियो हुनुपर्ने बताउँदै पत्रकारलाई अझ सचेत रहन आग्रह गर्नुभयो।

नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीले “मुटु स्वस्थ, मन स्वच्छ — असल पत्रकारिता” भन्ने सन्देशका लागि शिविर महत्वपूर्ण भएको बताउनुभयो।

कार्यक्रममा नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, र महासंघ बाँके सचिव कृष्ण ओलीलगायतले बोलेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button