भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सेवा प्रवाह प्रभावित, नयाँ श्रेस्ता बनाउन स्थगित
मेराज सलमानी
बाँके । भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँकेमा हाल सेवा प्रवाह आंशिक रूपमा प्रभावित भएको कार्यालयले जनाएको छ। गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण कार्यालयमा रहेका अभिलेख जल्ने तथा नष्ट हुने घटना भएपछि प्रभावित सेवालाई पुनः सुचारु गर्ने क्रममा नयाँ जग्गाधनी दर्ता श्रेस्ता तथा रोक्का अभिलेख तयार गर्ने कार्य केही समयका लागि रोकिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मालपोत ऐन २०३३, मालपोत नियमावली २०३४, भूमि प्रशासन निर्देशिका २०७९ र अन्य विद्यमान कानुनबमोजिम अभिलेख पुनःसंरचना तथा प्रमाणीकरणको प्रक्रिया अगाडि बढाइरहेको छ। यसका लागि २०८२/६/२४ मा प्राप्त भुमि व्यवस्थापन तथा अभिलेख बिभाग को निर्देशनको प्रमाण कागजात सहित निवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
नयाँ श्रेस्ता तथा रोक्का अभिलेख सेवा केही दिनका लागि रोकियो कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड हुँदै आएको, अभिलेख नष्ट भएको र प्रमाणिकरण प्रक्रिया जटिल रहेका कारण– नयाँ श्रेस्ता – रोक्का अभिलेख – अभिलेख प्रमाणिकरण जस्ता सेवा केही दिन रोकिएको सूचनामा उल्लेख छ। अन्य नियमित सेवा भने सामान्य रूपमा नै सञ्चालन भइरहेको कार्यालयले स्पष्ट पारेको छ।
अनलाइन प्रणालीमा रहेको कार्य पहिले जस्तै निरन्तर जग्गाधनी दर्ता श्रेस्ता लगायतका अभिलेख अनलाइन प्रणालीमा सुरक्षित रहेकाले – रोहबर – फुकुवा – राजीनामा – कबुलियतनामा – दृष्टिचक्र – नामसारी – दा.का. – हालसाबिक/अध्यावधिक जस्ता आवश्यक सेवाहरू सामान्य रूपमा जारी रहेको कार्यालयको भनाइ छ।
कार्यालयले सेवा लिन आउने सर्वसाधारणलाई कार्यालय आउने अघि समय मिलाएर मात्र उपस्थित हुन अनुरोध गरेको छ। अत्यावश्यकबाहेक अन्य सेवाका लागि कार्यालयमा भीड नगर्न पनि आग्रह गरिएको छ।





