उजुरी दर्ता गरी अपराधीलाई कारबाही गर्न एमाले बाँकेको माग

मेराज सलमानी

बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेले जेन्जीका नाममा क्रियाशील आपराधिक समूहले जिल्लाभित्र गरेका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।

सो मागसहित पार्टीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

एमाले बाँकेका अध्यक्ष निरक गुरूङले हस्ताक्षरित ज्ञापनपत्रमा जेन्जीका नामका अपराधी समूहले गत भदौ २३ र २४ गते जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, अदालत, भन्सार, आन्तरिक राजस्व कार्यालय लगायत विभिन्न सरकारी तथा सार्वजनिक सम्पत्तिमा संगठित रूपमा तोडफोड र आगजनी गर्दै राज्य संयन्त्रलाई अस्थिर बनाउने उद्देश्यले घटना घटाएको उल्लेख गरिएको छ।

यस बाहेक नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, स्थानीय सरकारी भवन, पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह र हितु बिक्रम शाहीका सालिक तोडफोड गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा प्रदेश र संघीय सरकारलाई दबाबमा पार्ने प्रयास भएको एमालेले जनाएको छ।

पार्टीले घटनाका मूल योजनाकार र संलग्न सबै अपराधीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न आग्रह गर्दै भनेको छ, “सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नु कानून, शासन, सुरक्षा र राज्यको विश्वसनीयतामाथि गरेको धावा हो।”

एमाले बाँकेले राज्य संयन्त्रलाई घटनालाई सामान्य रूपमा नमलिएर, अपराधीकृत क्रियाकलापमा संलग्न भएका व्यक्तिहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाही अगाडि बढाउन जोडदार माग गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button