“समाजलाई तर्साउने गुण्डा शैली सह्य हुँदैन” – एसपी अंगुर जीसी
मेराज सलमानी

नेपालगन्ज । पछिल्ला केही वर्षदेखि बाँकेमा बढ्दै गएको गुन्डागर्दि, अवैध धन्दाहरू र अराजक गतिविधिले स्थानीयवासी त्रसित भइरहेका बेला बाँकेका नयाँ प्रहरी प्रमुख एसपी अंगुर जीसीले कडा कदम चाल्दै अपराध नियन्त्रण अभियानलाई तीव्र पारेका छन्।
बर्षौंदेखि चल्दै आएको झै–झगडा, समाजमा भय सिर्जना हुनेगरी हुने गुण्डागर्दि, खोलामाथि कब्जा, अवैध स्पा–मसाज सेन्टर, अवैध क्रसर देखि विभिन्न गैरकानुनी गतिविधि बढे पनि पूर्ण नियन्त्रणमा आउन सकेको थिएन। यी गतिविधिले स्थानीयवासीमा डर, त्रास र असुरक्षाको वातावरण बनाइरहेको थियो।
एसपी जीसी आएपछि कडा एक्सन
एसपी अंगुर जीसी बाँके आएपछि गुन्डागर्दि र अराजकता फैलाउने समूहविरुद्ध कडा अभियान सञ्चालन गरिएको छ। प्रहरीले गुन्डा सूचीमा परेका समिर बिष्ट र विनय भण्डारीलाई गएराति पक्राउ गर्न सफल भएको छ। प्रहरीका अनुसार बाँकेमा प्रहरी कारबाही तीव्र भएपछि धेरै गुण्डाहरू क्षेत्र छाडेर भागिरहेका छन्।
गुन्डागर्दि नियन्त्रणमा कठोर नीति
बाँके प्रहरीका अनुसार “गुन्डागर्दि अब सह्य हुने अवस्था छैन। समाजलाई तर्साउने, आतंक फैलाउने जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गरिनेछ। यस्ता व्यक्तिलाई संरक्षण गर्नेहरूमाथि पनि कुनै छुट दिइने छैन।” प्रहरीको सक्रियता बढेसँगै स्थानीयवासीले बाँकेमा शान्ति सुरक्षा वातावरण मजबुत बन्दै गएको अनुभूति गरिरहेको बताएका छन्।





