निर्वाचनका लागि सरकारले वातावरण बनाउन सकेको छैन : पूर्व मन्त्री राई

कम्मर शाहको मेला २८ गतेसम्म

शकील राई

बाँके । जनता समाजवादी पार्टीका महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले समयमा निर्वाचन सम्पन्न गर्न सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ ।

डुडुवा गाउँपालिका ५ कम्दीमा मंगलवारबाट सुरु भएको कमरशाह बाबा मेलाको उद्घाटन गर्दै पुर्वमन्त्री राईले निर्वाचन हुनेमा आशंका ब्यक्त गर्दै जेन जी आन्दोलनका बेला प्रहरीको हातहतियार लुटपात भएको र धेरै कैदीहरु जेल बाहिर रहेकोले निर्वाचन हुनेमा आशंका रहेको बताउनु भएको हो । उहाँले भन्नुभयो- ‘निर्वाचनको माहोल बनिसकेको छैन । जनताले असुरक्षित महशुस गरिरहेकोले निर्वाचन हुनेमा आशंका छ र सरकार यस्तो गम्भीर विषयमा ध्यान दिएको छैन्’ ।

पुर्वमन्त्री राईले सरकारको प्रमुख जिम्मेवारी नै सहज वातावरण निर्माण गरि निर्वाचन सम्पन्न गर्ने भएपनि अन्य विषयमा अल्झिएर बसेको आरोप लगाउनु भयो ।

मेला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालगन्जको सामाजिक एवम् धार्मिक सद्भाव वातावरण देशभर नमुनाका रुपमा रहेपनि नेपालगन्जको सद्भावलाई विथोल्न केहि तत्व सक्रिय रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक एवम् धार्मिक सद्भावले मात्र उन्नत समाजको निर्माण हुने बताउँदै सवैको सहकार्यले मात्र समग्र बाँके जिल्लाको विकास हुने स्पष्ट पार्नुभयो । ‘नेपालगन्जमा विद्यमान सामाजिक एवम् धार्मिक सद्भाव विथोल्ने तत्वले आफू पनि नबन्ने र अरुलाई पनि बन्न नदिने खेल खेलिरहेका छन् । यसतर्फ सवै सजग भएर लाग्न जरुरी छ,’ उहाँले भन्नुभयो।

पुर्वमन्त्री राईले हजरत बाबा कम्मर शाहको मजार समेत सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गरिरहेको तथ्य उजागर गरेको बताउनुभयो ।

पुर्वमन्त्री राईले आफूले उद्घाटन र शिलान्यास गरेको योजनाहरु क्रमशः निर्माण भइरहेको बताउँदै केहि योजनाहरु पूरा भएर जनताले उपभोग गरिरहेको बताउदै जनताको मत तान्न केहि दलका नेता र कार्यकर्ताले आफूलाई गम्भिर आरोप लगाएको गुनासो समेत गर्नुभयो ।

‘निर्वाचनका बेला मलाई चुरण मन्त्री भनेर आरोप लगाउने काम भयो, मैले शिलान्यास गरेका र उद्घाटन गरेका साना–ठूला योजना केहि निर्माण पूरा भइसकेका छन् र केहि निर्माणको क्रममा छन्,’ पूर्व मन्त्री राईले भन्नुभयो, ‘निर्वाचनका बेला मलाई आरोप लगाउनेहरुको मुख निर्माण भएका र निर्माण भइरहेका योजनाले बन्द गरि दिएको छ । मैले धेरै भनिरहनु पर्ने छैन ।’

कमरशाह बाबा मजार ब्यवस्थापन समितिका अध्यक्ष सगिर खाँको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य समेत रहेका पूर्व कृषि मन्त्री भण्डारीलाल यादव, डुडुवा गाउँपालिका ५ नंं वडा अध्यक्ष झंकबहादुर थापा लगायतले आफ्नो धारणा राखेका थिए । कम्मर शाहको मेला मंसिर २८ गतेसम्म संचालन हुने समितिका अध्यक्ष खाँले जानकारी दिनु भएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button