शंकर पोखरेल : देशले आशा गरेको नेता

याम शर्मा

      नेकपा (एमाले) यतिबेला ११ औं महाधिवेशनको संघारमा छ । मुलतः अगामी ५ वर्षका लागि नेतृत्व चयन गर्ने कार्यभार बोकेको यो महाधिवेशनले एमाले पंक्तिमात्र होइन सिंगो देशको ध्यान केन्द्रीत गरेको छ । हालसम्म भएको वहस र एमाले नेता कार्यकर्ताको भावना बुझ्दा वर्तमान अध्यक्ष केपी ओली नेतृत्वमा दोहोरिने करिव निश्चित जस्तै देखिन्छ । यस पृष्ठभूमिमा ओली पछाडिको नेतृत्व को हुने ? महाधिवेशनमा कुन नेताको जिम्मेवारी के हुने ? भन्ने विषय पनि चासोका रुपमा रहेको छ । नेकपा (एमाले) जस्तो विचार र संगठनमा आधारित पार्टीको नेतृत्व गर्ने सम्बन्धमा सबैभन्दा योग्य र सक्षम नेता शंकर पोखरेल देखिनुहुन्छ ।

योग्यता, क्षमता मात्र होइन, नैतिकता, पारदर्शिता र लोकप्रियताका हिसावले समेत शंकर पोखरेल समकालिन नेताहरुको पंक्तिमा अग्र भागमा रहेको पाइन्छ । एक हिसाबले भन्ने हो भने उहाँलाई सिंगो देशले समकालिन राजनीतिमा दोस्रो पुस्ताका सवैभन्दा आशा लाग्दा र भरपर्दा नेताका रुपमा लिएको देखिन्छ । पार्टीमा सैद्धान्तिक, वैचारिक, सांगठनिक क्षेत्रको कामका साथै योजनाकारका रुपमा पोखरेलले खेलेको भूमिका स्मरणीय छ । हालसम्म पार्टी राजनीति र राजकीय जिम्मेवारीमा पोख्रेलले खेलेको भूमिकालाई विश्लेषण गर्दा स्पष्ट भन्न सकिन्छ, शंकर देशले चाहेका नेता हुनुहुन्छ र नेपालको विकास र समृद्धिमा ठोस योगदान गर्न सक्ने प्रशस्त सम्भावना छ ।

वैचारिक कामको अगुवाइ

मदन भण्डारीको दुःखद् अवसान भएपछि पार्टीमा ठूलो रिक्तताको अवस्था थियो । मदन भण्डारीको अगुवाइमा अगाडि सारिएको जनताको बहुदलीय जनवाद (जबज) मदनको अवसानसँगै के हुन्छ भन्ने संशयकाबीचमा यसलाई सैद्धान्तिक र वैचारिक रुपमा व्याख्या गर्ने, विष्लेषण गर्ने र आम जनसमुदाय र मुलतः युवा विद्यार्थीका वीचमा स्थापित गराउने कामको अगुवाइ शंकर पोखरेलले गरेको तथ्य छ । तत्कालीन अवस्थामा पार्टीका ठूला नेताले जबजको अपनत्व नलिने, कसैले दक्ष प्रजापितको टाउको भन्दै अपमान गर्ने र कसैले यसलाई कमजोर पार्ने काम गरे । यो षड्यन्त्रलाई चिरेर जबजलाई स्थापित गराउने काममा शंकरले खेलेको भूमिका र मदनले जस्तै धारा प्रवाह भाषण गर्ने क्षमताका कारण मानिसहरुले एक समय दोस्रो मदन भण्डारीका रुपमा शंकरलाई हेर्ने गरेका थिए ।

पोखरेलले जबजलाई रक्षा गर्ने र समय सापेक्ष विकास र व्याख्या गर्ने काममा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको पाइन्छ । उहाँले जबजलाई नेकपा एमालेकाबीचमा मात्र होइन, समग्र बामपन्थी आन्दोलनमा समेत चर्चित र स्थापित गराउन उल्लेख्य भूमिका खेलेको पाइन्छ । यसको परिणामका रुपमा अहिले सशस्त्र युद्ध गरेको माओवादीदेखि अन्य विभिन्न घटकहरु शान्तिपूर्ण संसदीय राजनीतिमा आएको तथ्यलाई लिन सकिन्छ । यसका साथै हरेक फोरम र महाधिवेशनमा जबजमा आधारित भएर नीति तयार गर्ने, पार्टीका रणनीति कार्यक्रम र कार्यनीति तयार गर्ने काममा पनि शंकर पोखरेलको महत्वपूर्ण भूमिका रहँदै आएको छ । अहिले कार्यकताले उहाँलाई जबजको व्याख्याता र वैचारिक नेता मात्र भन्दैनन्, पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको प्रस्तावकका रुपमा पनि चिन्ने गर्छन् ।

कुनै समय यस्तो पनि थियो कि एमालेलाई न भाले न पोथी भन्ने गरिन्थ्यो । माओवादी द्वन्द्वलाई हेर्ने स्पष्ट दृष्टिकोण थिएन । संविधान सभाको निर्वाचन र राज्यको पुनसंरचनाको विषय एमालेमा प्रवेश नै भएको थिएन । माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा रहँदा राष्ट्रिय राजनीतिमा एमालेको कुनै अडान थिएन । अरु पार्टी जता लाग्छन्, त्यतै लाग्ने अवस्थामा एमाले थियो । यहीबेला पार्टीभित्र नयाँ वैचारिक कामलाई उठाउने काम शंकरले गर्नुभएको थियो । पार्टीभित्र संविधान सभाको चुनाव, राज्यको पुनसंरचना, समानुपातिक समावेशीकरण जस्ता विषयलाई प्रवेश गराउने र वहस गर्ने तथा निर्णय गराउने काममा शंकरले नै निर्णायक भूमिका खेलेको जो कोही एमालेलाई थाहा छ ।

जबजले परिकल्पना गरेअनुसार पार्टीलाई लोकतान्त्रिकरण गर्ने र एमालेलाई विचार र सिद्धान्तको जगमा राष्ट्रिय राजनीतिमा फरक पहिचान र अडानका साथ स्थापित गराउने काम केपी ओलीको नेतृत्वमा सातौं महाधिवेशनसँगै अगाडि बढ्यो । यसलाई पार्टीमा स्थापित गराउने काममा केपी ओलीसँगै पृष्ठभूमिमा बसेर काम गर्ने व्यक्ति शंकर नै हुनुहुन्थ्यो । केपी ओलीलाई पार्टी नेतृत्वमा स्थापित गराउने र सैद्धान्तिक र वैचारिक रुपमा साथ दिने सीमित नेतामा शंकर पोखरेल अग्र भागमा रहनुभएको छ । अझ पार्टीमा संकट पर्दा होस् या नेतृत्वमाथि आक्रमण हुँदा होस्, त्यसका विरुद्धमा वैचारिक लडाइ लड्ने मुख्य व्यक्ति शंकर पोखरेल हुनुहुन्छ । यसले के स्पष्ट पार्छ भने पार्टी नीति र नेतृत्वलाई स्थापित गर्ने, रक्षा गर्ने र निरन्तर अगाडि बढाउने एक पिल्लर शंकर पोख्रेल हुनुहुन्छ । अत्यन्तै जटिल समयदेखि पार्टी सरकारमा हुँदा खेलेका बौद्धिक र राजनीतिक कामले शंकर पोखरेललाई एमालेको भावि नेतृत्वमा अग्र भागमा स्थापित गरेको छ ।

सफल मुख्यमन्त्रीको सन्देश

भारतको गुजरात प्रदेशको मुख्यमन्त्री हुँदा गरेका प्रभावकारी कामले नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री बनाउन सक्छ भने लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीका रुपमा गरेका प्रभाकारी कामले शंकर पोखरेललाई नेकपा एमालेको अध्यक्ष र देशको प्रधानमन्त्री बनाउन किन सक्दैन ? यो प्रश्न किन पनि सान्दर्भिक छ भने काम गरेर प्रमाणित गरेका नेतालाई नै हो पार्टीको होस् या राज्यसत्ताको जिम्मा दिने । तबमात्र देश र जनताले चाहेजस्तो परिणाम पाउन सम्भव हुन्छ ।

यहाँनेर के कुरा स्मरणीय छ भने राज्यको पुनसंरचना र संघीयताको वहसलाई पार्टीभित्र र देशव्यापी बनाउन मुख्य भूमिका खेलेको व्यक्ति भएका हिसाबले पनि शंकर पोखरेलले लुम्बिनी प्रदेशलाई संघीयताको मर्म र भावनाअनुसार अगाडि बढाउनुभयो । जसको परिणाम स्वरुप सात प्रदेशमध्ये लुम्बिनी प्रदेश विकास निर्माण, आर्थिक अनुशासन तथा सुशासन, पूँजीगत खर्च सबै हिसावले एक नम्बर प्रदेश बन्न सक्यो । सैद्धान्तिक र वैचारिक नेताका रुपमा बनाएको छविलाई मुख्यमन्त्री हुँदा उहाँले नीति निर्माण, कार्यान्वयन र जनताको जीवनसँग राजनीतिलाई जोड्ने नेताका रुपमा थप विस्तार गर्नुभयो ।

नेपालमा संघीयताको आवश्यकता, औचित्यका बारेमा प्रश्न उठ्दा त्यसको प्रतिवाद गर्ने र संघीय शासन व्यवस्थालाई स्थापित गराउन निरन्तर लाग्नुले उहाँको नेपाली समाजको विविधतालाई सम्बोधन गर्ने र समान विकास गर्ने अवधारणालाई वुझ्न सकिन्छ । आर्थिक सामाजिक रुपान्तरणका माध्यमबाट समाजलाई बदल्ने र समाजवादको आधार तयार पार्ने काममा उहाँले मुख्यमन्त्रीका रुपमा खेलेको भूमिका होस् या पार्टी सरकारमा हुँदा खेलेको भूमिका, यो सबैले उहाँलाई सिद्धान्तलाई व्यवहारमा ढाल्ने सामथ्र्य भएको नेताका रुपमा स्थापित गरेको छ । यस हिसाबले पार्टीको नेतृत्व गर्नेमात्र होइन, देशकै नेतृत्व गर्ने योग्य र सक्षम व्यक्तिका रुपमा शंकर पोखरेललाई लिन सकिन्छ । देश विकासमा उहाँले खेलेका भूमिकाका कारण नै देशले एउटा आशालाग्दो नेताका रुपमा उहाँलाई लिएको पाइन्छ ।

अभानेस्ववियूको अध्यक्ष, अनेरास्ववियुको अध्यक्ष, त्रिवि स्ववियुको सभापतिदेखि पार्टीका विभिन्न जिम्मेवारी समाल्दै महासचिवका रुपमा निभएको महत्वपूर्ण भूमिकाले उहाँको सांगठनिक कौशलता र नेतृत्व क्षमतालाई देखाउँछ । त्यसै गरी युवा अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै सूचना तथा सञ्चार मन्त्री र मुख्यमन्त्री हुँदा उहाँले खेलेको भूमिकाले उहाँलाई अब्बल नेतृत्वका रुपमा स्थापित गराएको देखिन्छ । उहाँलाई विभिन्न जिम्मेवारीमा रहँदादेखि चिनेका व्यक्ति र अन्य पार्टीका नेता कार्यकर्तासम्मले आशाको नजरले हेरेको पाइन्छ । यस अर्थमा उहाँ राष्टले आशा गरेको नेताका रुपमा स्थापित हुनुभएको छ ।

अन्त्यमा, जनताको बहुदलीय जनवादका व्याख्याता, कुशल संगठक, नेकपा एमालेका एजेण्डा सेटिङका आर्किटेक्ट, आर्थिक सामाजिक रुपान्तरणका योजनाकार, नेपाली माटो सुहाउँदो समाजवादका प्रस्तावक, पारदर्शीता र जवाफदेहितासहित नैतिक आचारणका उदाहरणीय व्यक्तित्व शंकर पोखरेललाई पार्टीमा उचित जिम्मवारी दिएर संकटपूर्ण अवस्थाबाट पार्टीलाई अगाडि बढाउन र नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गराउन एमालेका नेता, कार्यकर्ता र मुलतः महाधिवेशन प्रतिनिधिहरुले विवेकसम्म भूमिका निर्वाह गर्नुपर्दछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button