निर्वाचन अध्यादेश : समानुपातिक कोटामा फेर बदल

काठमाडौं । सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ जारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार साँझ अध्यादेश जारी गरेका हुन् ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०८२ लाई पहिलो संशोधन अध्यादेशमार्फत अनुसूची १ मा रहेको समानुपातिक प्रतिनिधित्वको प्रतिशत हेरफेर गरेको हो ।
जसमा यस अघि राजनीतिक दलले बन्दसूची पेश गर्दा खस आर्य को ३१.२ प्रतिशत रहेकोमा करिब एक ०.९२ प्रतिशतले घटेर ३०.८ प्रतिशतमा झरेको छ । यस्तै मधेशीको १५.३ प्रतिशत रहेकोमा अहिले ०.८५ प्रतिशतले बढेर १६.१५ पुगेको छ ।
यस्तै आदिवासी जनजातिको २८.७ प्रतिशत रहेकोमा ०.०२ प्रतिशतले बढेर २८.७२ प्रतिशत पुगेको छ भने दलितको १३.८ प्रतिशतबाट ०.३६ घटेर १३.४४ प्रतिशत पुगेको छ । यस्तै थारुको ६.६ प्रतिशत रहेकोमा ०.०८ प्रतिशतले घटेको ६.५२ प्रतिशत पुगेको छ भने मुस्लिमको ४.४ प्रतिशतबाट ०.४९ प्रतिशतले बढेर ४.८९ प्रतिशत पुगेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ जारी गरिसकेकाले अब सरकारले जारी गरेको अध्यादेशका आधारमा निर्देशिका संशोधन गर्नुपर्ने हुन्छ ।
अध्यादेश राजपत्रमा प्रकाशित भएपछि आयोगले निर्देशिका संशोधन गर्ने र त्यसै अनुसार कार्यान्वयनको प्रक्रियामा जाने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल बताउनुभयो । उहाँका अनुसार यही पुस १३ र १४ गते राजनीतिक दलले आगामी फागुन २१ गते हुन लागको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने कार्यतालिका तोकेको छ । त्यस अघि आयोगले राजनीतिक दलसँग छलफल गर्ने तयारी भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनु भएको छ । नेपाल प्रेसबाट





