नेपाल बाट भारत सीमा हुँदै लैजाँदै गरिएको अवैध मोबाइल बरामद
मेराज सल्मानी

बाँके । अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको सामान जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको छ।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित सीमावर्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा भारततर्फ जाँदै गरेको UP 32 HQ 1801 नम्बरको गाडी रोकी जाँच गर्ने क्रममा बिल–भिजक नभएको अवैध सामान फेला परेको हो।
जाँचका क्रममा उक्त गाडीबाट अन्दाजी मूल्य रु. १ लाख ६५ हजार बराबरका २०५ थान मोबाइल फोन तथा तस्करीमा प्रयोग गरिएको सवारी साधनको अन्दाजी मूल्य रु. १५ लाख गरी जम्मा रु. १६ लाख ६५ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दिपक पातलीले बरामद गरिएको सामान र तस्करीमा संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको बताए।
प्रहरीले सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि निगरानी कडा बनाइएको र यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।





