डुडुवा ४ को घटना गम्भीर, अनुसन्धानमा सहयोगको आग्रह

मेराज सल्मानी
नेपालगंज । बाँकेको डुडुवा गाउँपालिका–४ मा कुटपिटको घटनामा एक युवक गम्भीर घाइते भएका छन्। पौष ७ गते बिहान करिब २ बजे केही व्यक्तिहरूको समूहले कुटपिट गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कुटपिटबाट घाइते युवकलाई उद्धार गरी उपचारका लागि नेपालगञ्जस्थित न्यूरो अस्पताल प्रा.लि. लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको र हालसम्म उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ।
उक्त घटनासँगै जोडिएर एक जना नाबालक बलात्कारमा परेको विषयमा समेत प्रहरीलाई जानकारी प्राप्त भएको छ। सो सम्बन्धमा विस्तृत स्वास्थ्य परीक्षणसहित अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै घटना गम्भीर प्रकृतिका फौजदारी कसुर भएकाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको छ। साथै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत घटनालाई राजनीतिक, धार्मिक वा साम्प्रदायिक रंग दिने प्रयासले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ। साथै अनुसन्धानमा सहयोग पुर्याउने सूचनाहरू उपलब्ध गराई प्रहरी कारबाहीमा रचनात्मक सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।
घटनालाई प्रभावित पार्ने मनसायले अफवाह फैलाउने, पीडितलाई झनै पीडित बनाउने, चरित्र हत्या गर्ने तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधि गर्ने व्यक्ति वा समूह र संचारमाध्यम लाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ।






