बर्दियामा २६६ ग्राम खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ

मेराज सल्मानी
बर्दिया । प्रहरीले बर्दियाबाट ठूलो मात्रामा लागू औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले २६६ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित भारत उत्तर प्रदेश राज्यको बहराइच जिल्ला लौकाही निवासी ३३ वर्षीय फिरोज खानलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार आज राति करिब ५ः४५ बजे विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका वडा नम्बर-११ लालपुर नजिक बाट खानलाई नियन्त्रणमा लिन खोज्दा उनी भाग्न खोजेका थिए। भाग्ने प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउण्ड गोली चलाएको थियो, जसमा एक राउण्ड खानको दाहिने खुट्टामा लागेको र अर्को राउण्ड नलागेको प्रहरीले जनाएको छ।

गोली लागेपछि खानलाई नियन्त्रणमा लिई कानुनबमोजिम खानतलासी गर्दा उनले लगाएको पाइन्टको दाहिने खल्तीभित्रबाट लागू औषध खैरो हेरोइन फेला परेको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित २८३ ग्राम र प्लास्टिक हटाउँदा शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।

त्यसका साथै खानको साथबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको ब्यूरोले जनाएको छ। पक्राउ परेका खानलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button