अनावश्यक रुपमा नाम जोडेर बदनाम गरियो : पुर्वमन्त्री राई सचिवालय

नेपालगन्ज । पुर्वमन्त्री मोहम्मद इश्तियाक राईको सचिवालयले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ मा घटेको घटनालाई लिएर चरित्रहत्या हुने गरि अनावश्यक रुपमा नाम जोडेर सामाजिक सञ्जाल तथा पत्रकार सम्मेलन मार्फत बदनाम गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

आज शुक्रवार रिपोर्टस क्लब काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलन र विभिन्न सामाजिक संजालमा सम्प्रेषण भएको विषयवस्तुसँग सम्बन्धित भई जनता समाजवादी पार्टीका महासचिव तथा पूर्वमन्त्री राईको नाम जोडेर पीडित परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएको भन्ने समाचारप्रति सचिवालयले विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा अत्यन्तै संवेदनशील तथा जघन्य अपराध बलात्कार जस्तो विषयमा अपराध गर्ने जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने मान्यता प्रति हाम्रो स्पष्ट र दृढ अडान रहेको र कानुनी राज्य र संविधानभन्दा माथि कोही पनि नहुने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेका उल्लेख गरिएको छ ।

डुडुवा ४ को घटना मात्र नभई पूर्वमन्त्री राईले कुनै पनि विवादित मुद्दामा दबाब दिइने कार्य गर्ने कल्पनासमेत गर्न नसकिने र प्रहरीले कुनै पनि किसिमको हस्तक्षेप बिना स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रूपमा अनुसन्धान गर्न पाउनुपर्ने हाम्रो स्पष्ट धारणा रहेको सचिवालय संयोजक राजेन्द्र बिश्वकर्माले हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

समग्र समाजको भलाई, सुरक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि भ्रमपूर्ण, अपुष्ट र तथ्यहीन समाचार प्रकाशन प्रशारण नगर्नुका साथै मिडिया मात्र नभई हरेक नागरिकले सूचना सार्वजनिक गर्दा सत्यताको सुनिश्चितता गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति मार्फत झूटा तथा भ्रमपूर्ण समाचारहरूले सार्वजनिक जीवनमा शान्ति–सुरक्षामा खलल पुर्याउनुका साथै लोकतान्त्रिक समाजमा जनताको सही निर्णय क्षमतालाई कमजोर बनाउँदै सरकार, मिडिया र संस्थाप्रतिको विश्वास घटाउने र सामाजिक अशान्ति निम्त्याउने जोखिम रहने भएकोले यस्ता निराधार र गलत आरोपहरूको कडा शब्दमा खण्डन गर्दै यसको पछाडि नलाग्न सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा नागरिकहरूमा आग्रह गरिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button