जानकी गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको १९औँ गाउँसभा आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२ सालको पुस २९ गतेसम्मको आय–व्यय विवरणसहितको प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा स्वीकृत गरि गाउँसभा सम्पन्न भएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिव परशुराम उपाध्यायका अनुसार यसअवधिमा गाउँपालिकाको कुल खर्च १४ करोड ४४ लाख ३१ हजार १३५ रुपैयाँ पुगेको जानकारी गराउनु भएको थियो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बुधबार सम्पन्न गाउँसभाले पालिकाका विभिन्न क्षेत्रसँग सम्बन्धित ६ वटा कार्यविधि अनुमोदन गरेको छ । गाउँसभा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार तथा सामाजिक सेवाका विषयमा सक्रिय छलफल भएको थियो ।

वडा नम्बर ५ का अध्यक्ष तथा पालिका प्रवक्ता टिकानाथ यादवले प्रत्येक वडामा स्थानीय धार्मिक आस्था अनुसार अन्त्येष्टि स्थल निर्माणका लागि बजेट विनियोजन गर्न सुझाव दिनुभयो । चालु आर्थिक वर्षभित्र कन्या विद्यालयलाई माध्यमिक (मावि) स्तरमा स्तरोन्नति गर्नेतर्फ पालिकाले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । साथै उहाँले स्वास्थ्य संस्थाका लागि आवश्यक आइरन चक्की पालिकाको बजेटबाट खरिद गरी स्वास्थ्य केन्द्रसम्म सहज रूपमा पुर्‍याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास संयोजक रामअचल धोबीले सहकारी संस्था मार्फत अनुदानमा ९ हजार ९९ बोरा युरिया, ७ हजार ३८१ बोरा डिएपी र १०२ बोरा पोटास मल वितरण गरिएको जानकारी दिनुभयो । कृषकको मागलाई मध्यनजर गर्दै मलको परिमाण थप बढाउनुपर्ने आवश्यकता रहेको धोबीले औँल्याउनुभयो ।

गाउँसभामा वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरुले आ–आफ्ना वडाका समस्या र विकासका सुझाव प्रस्तुत गरेका थिए । सबै सुझावहरूलाई समेट्दै नीति तथा कार्यक्रम संशोधनसहित गाउँसभा सर्वसम्मत रूपमा सम्पन्न भएको सूचना प्रविधि (आईटी) अधिकृत विकास जिसीले जानकारी दिनुभयो ।गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले स्वागत गर्नु भएको गाउँसभामा उठेको सवालहरूलाई सम्बोधन गर्दै पालिका अध्यक्ष खाँले गाउँसभा सम्पन्न गर्नुभएको घोषणा गर्नुभएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button