बाँकेमा लागू औषध (ब्राउन सुगर) सहित दुईजना पक्राउ

मेराज सल्मानी
नेपालगञ्ज । बाँके प्रहरी ले लागू औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दिपक पातलीले विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१, धम्बोजी नजिक चेकजाँच गर्ने क्रममा लागू औषध कारोबार भइरहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४६ वर्षीय विशाल दुलाल एवं नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी २७ वर्षीय युवराज रेग्मी रहेका छन्।
उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २८ ग्राम १२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागू औषधसहित पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।





