कोहलपुरमा सय बढी ‘जेनजी’ युवा एमालेमा समाहित

मेराज सल्मानी
नेपालगन्ज । कोहलपुर नगरपालिका भित्र छरिएर रहेका १ सयभन्दा बढी ‘जेनजी’ युवाहरु आइतबार नेकपा एमालेमा समाहित भएका छन्।कोहलपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सदस्य उमेशजंग शाहीको पहलमा ती युवाहरु एमाले प्रवेश गरेका हुन्।

नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार सूर्य ढकालसहित निर्वाचन परिचालन कमिटीका संयोजक बसन्ती, प्रदेश सल्लाहकार सदस्य नरेन्द्र शर्मा, जिल्ला कमिटी उप–सचिव निर्मला सुनार, जिल्ला सदस्यहरु कुस्मखर बस्याल, केशव शाही, उमेश शाही, सुरेन्द्र बहादुर थापा, कल्पना अधिकारी तथा नगर अध्यक्ष कुलबहादुर भट्टराईलगायतले अविर र खादा लगाएर स्वागत गरेका थिए।

प्रवेश गर्ने युवाहरुले वर्तमान सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै जेन्जीका माग सम्बोधन गर्न नसकेको आरोप लगाए। उनीहरुले जेन्जी आन्दोलनका क्रममा घटेका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक नगरेको तथा आन्दोलनलाई ‘हाइज्याक’ गरेर चुनावी स्वार्थमा प्रयोग गरिएको दाबी गरे।

मोहित थापा, सौरभ मल्ल, अनुज विष्ट, ईशान्त श्रेष्ठ, सिजन शाही, एलेक्स घलेलगायत युवाहरुले यसअघि आफूहरु एजेण्डाविहीन पार्टीको प्रचारमा संलग्न भए पनि युवालाई प्रयोग मात्र गर्ने प्रवृत्तिका कारण एमाले रोजेको बताए।

नवप्रवेशीहरुले पार्टीप्रति इमान्दार र निष्ठावान भई सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा उनीहरुले “नेकपा एमाले जिन्दावाद” र “भोट के मा? सूर्यमा” जस्ता नारा लगाउँदै उम्मेदवार सूर्य ढकालको प्रचारप्रसारमा सक्रिय हुने बताएका छन्।युवाहरुले आजैबाट गाउँ–समुदायमा गएर आफ्नो पक्षमा अभियान सञ्चालन गर्ने समेत जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button