मुस्लिम समुदायको पवित्र महिना रमजान आजदेखि सुरु 

साहिल शेष

नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमजान’ आजबाट शुरु भएको छ । बुधबार राती चन्द्रमा देखिएपछि नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत दक्षिण र पूर्वी एशियाका धेरैजसो देशहरुमा विशेष नमाज “तरावीह” पढेर बिहिवारबाट पवित्र महिना रमजानको रोजा (ब्रत) सुरु भएको हो ।

साउदी, कतार, यूएई लगायत पश्चिम एसियाका धेरै देशहरुमा एक दिनअघि बुधबारदेखि नै रमजानको रोजा शुरु भएको छ ।

‘शाबान’ महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखेपछि त्यसको भोलिपल्ट रोजा सुरु हुन्छ । इस्लामिक पात्रो १४४७ हिजरी संवत् अनुसार रमजान नवौं महिनामा पर्द्छ ।

यो महिनालाई इस्लाम धर्मको ५ अधार स्तमभ मध्य एकको रुपमा लिने गरिन्छ । यो महिनामा धूम्रपान, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरु धर्म विपरीत रहेकोे मुस्लिम धर्मगुरुहरु बताउँछन् ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा लिएको मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।

यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । रोजा नाबालक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

रमजानमा जानीजानी खानपिन गर्न नहुने, शक्तिवद्र्धक सुई लिनले, नशाबाट औषधि प्रवेश, प्रयोग गर्न नहुने अर्थात् स्लाइन नचढाउने, वीर्य स्खलन गर्नले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुने र शरीरमा तेल लगाउनले, दाँत माझ्नले, भुलेर खानपिन गर्नले, स्वप्नदोष हुनले, बान्ता हुनले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग नहुने धार्मिक अगुवाहरु बताउँछन्

सूर्यास्त भएपछि रोजा लिएका मानिसले केही खाने कुरा खाएर रोजा खोलने गर्छन्, त्यस कार्यलाई इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर मिठाइ, फलफूल लगायत खानेकुरा लिने गरिन्छ ।

पवित्र महिना रमजानमा नै इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । एक महिनासम्म रोजा लिएपछि मात्र इस्लाम धर्मावलम्बीहरुले इदुलफित्र अर्थात् ईद पर्व  मनाउने गर्छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button