नेपालगन्जमा ‘रेकर्डब्रेेक’ गर्दै लुम्बिनीमा इश्तियाकले जाेगाए एमालेको ‘साख’

नेपालगन्ज – बामपंथीकाे आधारक्षेत्र समेत मानिने लुम्बिनी प्रदेशमा नेकपा एमालेका दिग्गज नेताले चुनाव हार्दा बाँके-२ मा इस्तियाक राई बिजयी भए । संसदीय राजनीतिमा बाँके-२ एमाले पार्टीको लागि पहिलोपटक जित निकालेका राईले नै लुम्बिनी प्रदेशमा एमालेको ‘साख’जाेगाइदिएका छन् ।
यहाँ २४ हजार ६२६ मत ल्याएर उनले एमालेका निम्ति जितको खाता खोल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी बने ।
श्रेष्ठले १८ हजार ५८१ मत ल्याएका छन् । ६ हजारको मतान्तरमा जितेका ईश्तियाकले गणनाभर अग्रता लिएका थिए । उनको अग्रता र जित एमालेका निम्ति ठूलै राहत बन्न पुगेको छ ।

लुम्बिनी एमाले उपाध्यक्ष बिष्णु पाैडेल, गाेकर्ण बिष्ट, महासचिव शंकर पाेखरेल जस्ता दिग्गज नेताले चुनाव हारेका छन् भने अन्य कुनै ठाउँमा जित निकाल्न सकेनन्। यस्ताे परिस्थितिमा राईले जितेर एमालेको साख जाेगाइदिएका हुन । बाँके-२ मा हालसम्म संसदीय चुनावमा एमालेले जित्न नसकेकाे रेकर्ड पनि उनले ताेडिदिएका छन् ।
राईकाे बिजयले एमाले पंक्तिमा उत्साह जागेकाे बताउँछन् नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ । उनी भन्छन्,-‘ एमालेका लागि याे एतिहासिक जित सावित भयाे । कहिल्यै जितिदैन भन्ने ठाउँमा पार्टीको झन्डा फरफराएका छाैं ।’
एमालेले कहिल्यै जित्न नसकेकाे याे क्षेत्रमा ´व्यक्तिगत रुपमै बलियाे` रहेका माेहम्मद इस्तियाक राई एमालेमा आएर उम्मेदवार बनेपछि शुरुदेखि नै एमालेका नेता तथा कार्यकर्ता उत्साहित भएका थिए ।
‘ पश्चिम नेपालकाे चर्चित नेपालगन्ज शहर र डुडुवा गाउँपालिका समेटिएकाे क्षेत्र नम्बर २ मा राईकाे उपस्थितिले एमालेमात्रै बलियाे भएकाे छैन, यसपालीकाे चुनाव स्पष्ट रुपमा जित्ने आधार बनेकाे थियाे र आखिर जितेरै छाड्याै ।’-गुरुङले भने ।





