हर्षोल्लासका साथ ईद मनाइदै
बर्षाले ईदको नमाज प्रभावित

मेराज सल्मानी
नेपालगन्ज । शनिवार बिहान निरन्तर वर्षाका कारण यस वर्षको ईद पर्व अपेक्षाकृत खल्लो बनेको छ। शुक्रबारदेखि नै परेको वर्षाले शनिबार पनि बिहानसम्म असर पार्दा मुस्लिम समुदायले परम्परागत रूपमा खुला स्थान इदगाहमा पढ्ने सामूहिक नमाज कार्यक्रम प्रभावित भएको हो।
वर्षाका कारण शनिबार बिहान करिब ८ बजे नेपालगन्जस्थित ईदगाह तथा विभिन्न स्थानीय मस्जिदहरूमा मुस्लिम समुदायले सामूहिक रूपमा ईदको नमाज अदा गरेका थिए। वर्षाका कारण मुख्य ईदगाहमा भीड व्यवस्थापनमा समस्या देखिएपछि अन्य मस्जिदहरूमा समेत वैकल्पिक रूपमा नमाज पढ्ने व्यवस्था मिलाइएको गौसिया जानु मस्जिदका मौलाना जमाल कादरीले जानकारी दिएका छन् ।
मुस्लिम समुदायले प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने ईदुल फित्र यसपटक मौसम प्रतिकूलताका कारण केही प्रभावित भए तपनि धार्मिक आस्था र परम्परामा कुनै कमी भने आएको छैन। देशभरका मुस्लिम धर्मावलम्बीहरूले विशेष नमाज अदा गर्दै, एकअर्काबीच शुभकामना साटासाट गरी पर्व मनाएका छन्।
ईद पर्वको अवसरमा आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई माया तथा आशीर्वाद दिने परम्परा रहेको छ। घरघरमा सेवइ, जर्दा, खजुर लगायतका परिकार बनाएर पाहुनालाई खुवाउने चलन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। साथै, यस दिन गरिब तथा विपन्नलाई दान दिने परम्पराका कारण पनि यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ।





