बाँके प्रहरी प्रमुख अंगुर जिसी सम्मानित

नेपालगन्ज । अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा उत्कृष्ट जिम्मेवारी निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीलाई नेपाल प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ ।
प्रहरी उपरिक्षक जिसीलाई विभागीय नीति तथा निर्देशनलाई आत्मसाथ गर्दै निर्दिष्ट जिम्मेवारी अनुशासित, लगनशील, ईमानदार, व्यवसायिक एवं कर्तव्यनिष्ठ रही उत्कृष्ट रूपमा कार्यसम्पादन गरेका भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख जिसी जिल्लामा शान्ति सुरक्षाको कमाण्ड सम्हालेको अवधिमा कार्य सम्पादन राम्रो रहेको र अपराध अनुसन्धानमा समेत उल्लेखनीय कार्य गरेकोले पुरस्कृत हुने प्रहरी अधिकृतमा पर्न सफल भएका हुन् ।
नागरिकमैत्री सेवा प्रवाहको निरन्तर प्रयास गरिरहेको प्रहरी उपरिक्षक जिसीले प्रधान कार्यालयले आफुलाई पुरस्कृत गर्दा थप जिम्मेवार बनाएको अनुभुति भएको बताएका छन् । प्रहरी उपरिक्षक जिसीले भविष्यमा पनि आमनागरिकलाई शान्ति सुरक्षाको अनुभुति गराउन प्रहरीले नागरिकमैत्री व्यहार गर्ने र पिडितलाई न्याय तथा पिडकलाई सजायको सुनिश्चितता गर्दै जानेमा आफु सदैव प्रतिवद्ध रहने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी) लैन्चौर काठमाण्डौंलाई लेखेको पत्र अनुसार उत्कृष्ट कार्य सम्पादन गरेको प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरु समेतमा सकारात्मक प्रभाव पर्ने भएकाले पुरस्कृत प्रहरी कर्मचारीको अभिलेखमा जनाउन अनुरोध गरिएको छ ।
प्रहरी महानिरीक्षकले निर्णय गरि प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनाउने गरि २०८२ चैत्र २ गते ६९ जनालाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा अतिरिक्त प्रहरी महानिरिक्षक २ जना, प्रहरी नायब महानिरिक्षक ७ जना, प्रहरी वरिष्ठ उपरिक्षक ७ जना, प्रहरी उपरिक्षक १९ जना, प्रहरी नायब उपरिक्षक १७ जना, प्रहरी निरिक्षक ४ जना, प्रहरी वरिष्ठ नायब निरिक्षक ३ जना, प्रहरी नायब निरिक्षक २ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान २ जना रहेका छन् ।





