डेक्सा स्क्यानदेखि पुनर्स्थापना केन्द्र सेवाको संजीवनी शुरु

साहिल शेष

नेपालगन्ज: नेपालगन्जस्थित सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस (सन्जिवनी अस्पताल)ले विशिष्टिकृत सेवा दिने उद्देश्यले आजदेखि थप चार वटा सेवा औपचारिक रुपमा सुरुवात गरेको छ । अस्पतालका प्रबन्ध संचालक सन्तोष खनालक अनुसार बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले थप सेवा बिस्तार गरिएको हो ।
आजदेखि पेट तथा कलेजो बिभाग, १२ शैयाको ‘डेडिकेटेड न्यूरो तथा अर्थो पुनर्स्थापना केन्द्र’ र खोप सेवा सुरु गरेको हो । यस्तै हड्डीको स्वास्थ्य जाँच गर्ने आधुनिक प्रविधि डेक्सा स्क्यान सेवा पनि अस्पतालमा सुरु भएको छ। ती सेवाको अस्पतालका वोर्ड अफ डाइरेक्टरद्वय डा. एम किदवाई र डा. सुरेश कुमार कनोडिया लगायतले औपचारिक रूपमा उद्घाटन गरेका थिए ।
सेवा बिस्तार कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाई, अस्पतालका प्रशासकीय प्रमुख कुमार अधिकारी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका प्रशासकीय प्रमुख  रामबहादुर हमाल, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी लगायत सहभागी थिए ।


पेट तथा कलेजो विभाग स्थापना
सन्जिवनी अस्पतालमा ग्यास्ट्रोइन्टेरोलिजोजी तथा हेपाटोलोजी (पेट तथा कलेजो) रोगको उपचार सेवा सुरु भएको छ । विशिष्टिकृत सेवाहरु बिस्तार गर्ने क्रममा आजदेखि पेट तथा कलेजो रोगको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध संचालक सन्तोष खनालले जानकारी दिए । पेट तथा कलेजो रोग विशेषज्ञ डा.गौरव श्रेष्ठको नेतृत्वमा ओपिडी सेवा सुरु भएको हो ।
अब सन्जिवनी अस्पतालमै पेट तथा कलेजो रोग सम्बन्धि बिरामीले विशिष्टिकृत प्राप्त गर्ने प्रबन्ध संचालन खनालले बताए । यसअघि फिजिसियनहरुले नै पेट सम्बन्धि बिरामीको उपचार गर्दै आएका थिए । अब देखि भने विशेषज्ञ चिकित्सकबाटै सेवा पाउने गरि पेट तथा कलेजो रोग बिभाग स्थापना भएपछि बिरामीहरुलाई ठूलो राहत हुने उनले बताए । बिभाग प्रमुख डा. श्रेष्ठले पेट तथा आन्द्राबाट हुने रगत बग्ने समस्या, दीर्घकालीन झाडापखाला, बारम्बार वान्ता हुने समस्या लगायतको विशेष उपचार हुने बताए ।


डेडिकेटेड न्यूरो तथा अर्थो पुनर्स्थापना केन्द्र
सन्जिवनी अस्पतालले स्नायु तथा हड्डी- जोर्नीसम्बन्धी बिरामीलाई लक्षित गर्दै १२ शैयाको ‘डेडिकेटेड न्यूरो तथा अर्थो पुनर्स्थापना केन्द्र’ सञ्चालनमा ल्याएको छ । अस्पतालले आधुनिक उपकरण र दक्ष जनशक्तिसहित औपचारिक रूपमा आजदेखि उक्त सेवा सुरु गरेको डेडिकेटेड न्यूरो तथा अर्थो पुनर्स्थापना केन्द्र प्रमुख  तथा वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन डा.मनिष कोलाक्षपतीले बताए ।
उनका अनुसार स्ट्रोक, पक्षघात, स्पाइनल इन्जुरी, नसासम्बन्धी समस्या, हड्डी भाँचिने, जोर्नी दुखाइ, मांसपेशी कमजोर हुनेजस्ता समस्याबाट पीडित बिरामीलाई केन्द्रमार्फत विशेष उपचार तथा पुनर्स्थापना सेवा प्रदान गरिनेछ । डा.कोलाक्षपतीले समयमै पुनर्स्थापना सेवा लिन सके बिरामीको शारीरिक क्षमता सुधार भई दैनिक जीवन सहज बनाउन ठूलो मद्दत पुग्ने बताए ।  नेपालगन्जमै यस्तो सेवा सुरु भएपछि बिरामीले टाढा जानुपर्ने बाध्यता हट्ने र समय तथा खर्च दुवै बचत हुने विश्वास उनले व्यक्त गरेको छन् ।
खोप सेवा पनि सुरु
स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा सन्जिवनी अस्पतालमा आजदेखि खोप सेवा पनि सुरु भएको छ । ओपिडी विभागनै स्थापना गरेर हेपाटाइटिस, इन्फ्लुएञ्जा, एमएमआर, चिकेन फक्स, टाइफाइड लगायतको खोप पनि अब नियमित सेवाका रुपमा उपलब्ध रहने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले बताए ।
उनले भने-`स्वस्थ कलेजोका लागि लगाउनु पर्ने खोपदेखि दिमागको झिल्लीको संक्रमणबाट जोगाउन मिल्ने खोप पनि लगाउन सकिन्छ ।´ उनका अनुसार भ्यागुते, लहरे खोकी, धनुष्टंकार रोगबाट बच्नका लागि लगाइने खोप पनि अब नियमित रूपमा उपलब्ध रहेको छ ।


डेक्सा स्क्यान सेवा सुरु
हड्डीको स्वास्थ्य जाँच गर्ने आधुनिक प्रविधि डेक्सा (DEXA) स्क्यान सेवा पनि सन्जिवनी अस्पतालमा सुरु भएको छ। यस सेवाको सुरुवातसँगै स्थानीय नागरिकले हड्डीको घनत्व (Bone Density) जाँच गर्नका लागि अब बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ। डेक्सा स्क्यान विशेषगरी अस्थि क्षय (Osteoporosis) तथा हड्डी कमजोर हुने समस्या पहिचान गर्न प्रयोग गरिन्छ ।
यो परीक्षण छिटो, सुरक्षित र पीडारहित हुने भएकाले विशेषगरी जेष्ठ नागरिक, महिलाहरू  तथा हड्डीसम्बन्धी जोखिम भएका बिरामीका लागि अत्यन्त उपयोगी मानिन्छ । अस्पतालका अनुसार, नयाँ मेसिनमार्फत बिरामीले छोटो समयमा नै रिपोर्ट प्राप्त गर्न सक्नेछन् । साथै, यस सेवाले समयमै रोग पहिचान गरी उपचार प्रक्रिया सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
अस्पताल प्रशासनले सबैलाई आफ्नो हड्डीको स्वास्थ्यप्रति सचेत रहँदै आवश्यक परे डेक्सा स्क्यान सेवा लिन आग्रह गरेको छ । साथै केही समयका लागि परिक्षणमा १५ प्रतिशत छुट उपलब्ध गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले बताए । स्वास्थ्य पेज डटकमबाट

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button