प्रधानमन्त्री समक्ष सांसद राईले बुझाउनु भयाे बाँकेकाे विकास एजेण्डा

नेपालगन्ज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले साेमवार लुम्बिनीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदसंग भेटघाट गर्नुभएको छ । उक्त भेटघाटमा बाँके-२ का सांसद एवं पूर्वमन्त्री इस्तियाक राईले प्रधानमन्त्री समक्ष यहाँको बिकासकाे एजेण्डा लिखितरूपमा बुझाउनु भएको छ ।

‘सम्माननीय प्रधानमन्त्री ज्यूलाई मेराे निर्वाचन क्षेत्रसंगै समग्र बाँके जिल्लाकाे विकासकाे महत्त्वपूर्ण एजेण्डा बुझाएको छ । याे यहाँका जनताकाे एजेण्डा भएको हुँदा पक्कै पनि पुरा हुनेछ भन्ने भराेसा गरेकाे छु ।’-सांसद राईले प्रधानमन्त्रीसंगकाे भेटपछि भन्नुभयाे ।

यि हुन एजेण्डा

पूर्वाधार:

-नेपालगन्ज-नयाँ दिल्ली सीधा हवाई उडान संचालनार्थ संरचनागत विकास एवम् कुटनीतिक पहल गरिनुपर्ने।

-नेपालगन्जमा आधुनिक क्रिकेट स्टेडियम निर्माण गरी क्रिकेटको केन्द्रका रूपमा नेपालगन्जलाई पुनर्पहिचान दिइनुपर्ने।

-आइसीपी (एकीकृत भन्सार जाँच चौकी)लाई सुख्खा बन्दरगाहको रूपमा विस्तार गरिनुपर्ने।

-नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य पूरा गरी यथासक्य चाँडो संचालनमा ल्याइनुपर्ने।

-बाढी र डुबान नियन्त्रण गर्न राप्ती नदी डुडुवा १, २ नं वडा चौफेरी र पाझामा तथा डुडुवा खोलाका अन्य आवश्यक ठाउँहरूमा तटबन्ध निर्माण गरिनुपर्ने।

-नेपालगन्ज चक्रपथ (रिङरोड) आयोजना कार्यान्वयन गर्दै नेपालगन्जभित्र समेटिएका साविकका गाविसहरू समेटिने बृहत्त चक्रपथको योजना अघि बढाइनुपर्ने ।

शिक्षा:

-नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाभित्र प्रारम्भमा पाइलट प्रोजेक्टका रूपमा भएपनि कम्तिमा ६ वटा विद्यालयबाट थालनी गरी सुविधायुक्त भौतिक संरचना निर्माण र डिजिटल शिक्षण प्रणालीलाई व्यापकता दिइनुपर्ने।

-पाइलट प्रोजेक्टका लागि सिफारिस विद्यालयहरू:

-श्री माध्यामिक विद्यालय, वडा नं ३ बनकट्टी, डुडुवा गाउँपालिका, बाँके।

-शहीद माबि वडा नं ५ मिलन चोक, डुडुवा गाउँपालिका, बाँके।

-पशुपति माबि, वडा नं २ नेउरीगौडी, डुडुवा गाउँपालिका, बाँके।

महाराजा माबि, वडा नं २१ पुरैना, नेपालगन्ज उपमहानगरपालिका।

-मा.बि., वडा नं १४ महेन्द्रनगर, नेपालगन्ज उपमहागरपालिका।

-जय जनता माध्यामिक विद्यालय, वडा नं २० थपुवा, नेपालगन्ज उपमहानगरपालिका।

-नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार विकास तथा क्याम्पसको नाममा रहेको जमिनको उच्चतम सदुपयोगका लागि विस्तृत योजना तयार गर्दै यस क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय विश्वविद्यालयका रूपमा विकास गरिनुपर्ने।

-लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको काम सम्पन्न गरी सुविधायुक्त भवनबाट शैक्षिक र प्रशासनिक कार्य सम्पादन गराउन पहल गरिनुपर्ने।

-भेरी प्राविधिक शिक्षालय (BTS) लाई समय सापेक्ष स्तरोन्नति गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादन गर्न सक्षम बनाइनुपर्ने।

-अध्ययन संस्कृतिलाई बढावा दिन नेपालगन्जको ऐतिहासिक महेन्द्र पुस्तकालयका लागि नयाँ संरचनासहित अध्ययनको वातावरण सहज र सुविधायुक्त बनाउन प्राविधिक पक्षमा सुधार गरिनुपर्ने।

स्वास्थ्य:

-सय वर्षभन्दा बढी समयदेखि पश्चिम क्षेत्रका २४ जिल्लावासीलाई उपचार सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पताललाई समयसापेक्ष परिष्कृत गर्दै विशिष्टिकृत अस्पतालमा रूपान्तरण गर्नु अत्यावश्यक देखिन आएकाले यस अस्पतालमा निम्न उल्लिखित विषयहरूको तत्कालै सम्बोधन जरूरी छ।

-चिकित्सक र अन्य प्राविधिक जनशक्तिको दरबन्दी थप।

-न्यूरो, मुटु, किड्नी, फोक्सो लगायत संवेदनशील अंगका जटिल प्रकृतिका रोगको उपचारार्थ विशेष व्यवस्था।

-गम्भीर चोटपटक लागेका घाइतेहरूको उपचारार्थ ट्रमा सेन्टर।

-चिकित्सा शिक्षाको स्नातकोत्तर तह संचालन।

-अस्पतालको उत्तरतर्फको जीर्ण भवनको ठाउँमा नयाँ भवन निर्माण तथा परसपुरस्थित अस्पतालको जग्गामा चिकित्सकका लागि आवास बनाउन पटक-पटक विनियोजित बजेटसमेत फिर्ता भई संरचना निर्माणको ठेक्का लाग्न नसकेकोले डीपीआर अनुसार तत्कालै यी संरचनाहरू निर्माण कार्य अघि बढाउनु आवश्यक।

-व्यवस्थित मर्चरी चेम्बर (शव राख्ने फ्रिजर) र, पोस्टमर्टमका लागि नयाँ संरचना निर्माण।

-पालिकास्तरमा रहेका १५ शय्याका अस्पताल र स्वास्थ्य चौकीहरूलाई आधुनिक सुविधायुक्त बनाउँदै मटर्निटी (प्रसुति) सेवा लगायतका सुविधा उपलब्ध गराउन पहल गरिनुपर्ने।

समाज:

-अन्तरधार्मिक संवाद, सहिष्णुता र सद्भाव कायम कार्यक्रम लगायतका प्रबर्द्धनात्मक क्रियाकलापहरू संचालन गरी नेपालगन्जसहित बाँके जिल्लामा सामाजिक एकता सुदृढ बनाउन पहल गरिनुपर्ने।

-बागेश्वरी मन्दिर, गोबर्धनधाम, सन्तानेश्वर, वर्फानी बाबा, कम्मरसा बाबा, फैजुन्नबी र फूलबारी मस्जिद, गुम्बा, गुरुद्वारा, चर्च लगायत सबै प्रकारका धार्मिक आस्थाका केन्द्रहरूको प्रबर्द्धन मार्फत धार्मिक पर्यटनको विकासमा पहल गरिनुपर्ने।

-नेपालगन्जको जमुनाहा नाकामा भारतीय पर्यटकमैत्री सेवा, सूचना केन्द्र र सुरक्षित वातावरण सुनिश्चित गर्दै खासगरी भारतीय पर्यटकहरूलाई आकर्षित गर्नेतर्फ पहल गरिनुपर्ने।

-लागुऔषधहरू मुहानमै नियन्त्रणका लागि सीमा निगरानी सुदृढ गर्दै पुनर्स्थापना केन्द्र, उद्धार, परामर्श सेवा र युवामैत्री खेल-संस्कृतिका लागि प्रभावकारी व्यवस्था गरिनुपर्ने।

खेती

-किसानीलाई प्राथमिकतामा राख्दै अत्यावश्यक समयमा कृषकहरूले सधैंजसो भोग्दै आएको मलको समस्याको दिगो समाधानार्थ तत्कालै विशेष कार्यक्रम लागू गरिनुपर्ने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button