सञ्जीवनीमा आमा सुरक्षा कार्यक्रम सञ्चालन

बाँके । नेपालगञ्जमा रहेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्स अस्पतालले आमा सुरक्षा कार्यक्रम पुनः सुचारु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख प्रशान्त बिष्ट र अस्पतालका प्रबन्ध निर्देशक सन्तोष कुमार खनालले आज एक औपचारिक कार्यक्रम मार्फत संयुक्त रूपमा सेवाको उद्घाटन गर्नुभएको हो ।

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सले अस्पताल सञ्चालन तथा व्यवस्थापन लगायतको पूर्ण स्वामित्व खरिद गर्दा प्राविधिक कारणले रोकिएको आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालनमा आएको हो ।

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोमान किदवाईका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको स्वामित्वको व्यवस्थापन र सञ्चालनमा रहेको बेला आमा सुरक्षा कार्यक्रम लागू भएपनि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सले खरिद गर्दा केही प्राविधिक र प्रशासनिक व्यवस्थापनका कारणले आमा सुरक्षा कार्यक्रम रोकिएको थियो ।

“अस्पताल फरक कम्पनीको स्वामित्वमा गएपछि आन्तरिक व्यवस्थापनका साथसाथै कानुनी चरणहरू पनि पार गर्नुपर्ने भएकोले सेवा स्थगित भएको थियो”- मेडिकल सुपरिटेन्डेन्ट किदवाईले भन्नुभयो-“तर अहिले अस्पतालको व्यवस्थापन कानुनी प्रक्रिया लगायतका सबै चरणहरू पार गरेर आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन गर्न सफल भएका छौँ ।”

सञ्जीवनी कलेज अफ मेडिकल साइन्स नेपालगञ्जमा आमा सुरक्षा कार्यक्रम सञ्चालन भएपछि नेपाल सरकारले लिएको गर्भवती महिलालाई संस्थागत प्रसवका लागि प्रोत्साहित गरी आमा तथा नवजात मृत्युदर घटाउने लक्ष्यमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button